परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकारको स्वास्थ्य नीतिको अधीनमा रही नेपाल भित्र स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने ।
(ख) स्वास्थ्य सम्बन्धी आधारभूत (बेसिक) एवं प्रायोगिक (एप्लाईड्) दुवै किसिमका अध्ययन तथा अनुसन्धान सम्बन्धी नीति तर्जुमा गर्ने ।
(ग) स्वास्थ्य पद्धति, जैविक चिकित्सा, बाय–मेडिकल स्वास्थ्य सेवा तथा आहार,व्यवहार र सदाचार सम्बन्धमा अनुसन्धान गर्ने र रोग व्याधीको प्रतिकार, निदान तथा उपचार सम्बन्धी अध्ययन गर्ने, गराउने ।
(घ) स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धानका प्राथमिकता क्षेत्रहरू तोक्ने ।
(ङ) स्वास्थ्यसंग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धानको लागि सहमति दिने, प्रमाणिकता निर्धारण गर्ने तथा नेपाल सरकार समक्ष सिफारिस गर्ने ।
(च) स्वास्थ्यसंग सम्बन्धित अनुसन्धान कार्यलाई समन्वय, मार्गदर्शन तथा मूल्याङ्कनb गर्ने र आवश्यक सल्लाह उपलब्ध गराउने ।
(छ) स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव र अनुसन्धानको उपलब्धीहरूको प्रकाशन तथा प्रचार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचनाहरूको आदान प्रदान गर्ने ।
(ज) नेपाल भित्र स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने, सुविधा उपलब्ध नभएको क्षेत्रमा अनुसन्धान गर्नु परेमा अनुसन्धानको केही अंश विदेशमा गराउन स्वीकृति दिने ।
(झ) स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने व्यक्ति वा संस्थालाई आवश्यकता अनुसार पुरस्कार, विद्धत वृत्ति एवं भ्रमण खर्च प्रदान गर्ने ।
(ञ) स्वास्थ्य सम्बन्धी अनुसन्धानको अभिलेख राख्ने ।